9यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें ।
10तँलाई बुट्टादार वस्त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें ।
11त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ ।
12मैले तेरो नाकमा नत्थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्दर मुकुट पहिराएँ ।
13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्यन्तै सुन्दरी थिइस्, र तँ रानी भइस् ।
14तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो ।
15तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो ।
16तब आफ्ना केही वस्त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्यहीं नै तैंले वेश्याले झैं व्यवहार गरिस् । यस्तो नहुनुपर्थ्यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।
17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्याले झैं काम गरिस् ।
18तैंले आफ्ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस् ।
19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
20अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्?