14परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
15जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्यन्तै सकसमा परे ।
16त्यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।
17तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्वासहीन भए र आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैं तिनीहरूले गरेनन् ।